अन्तर्राष्ट्रिय

वेस्ट बैङ्कमा पाँच हजार प्यालेस्टिनी विस्थापित

२३ माघ, रामल्लाह । विगत दुई हप्तामा उत्तरी वेस्ट बैङ्कको जेनिन र तुलकर्म शरणार्थी शिविरबाट कम्तीमा पाँच हजार प्यालेस्टाइनी परिवार विस्थापित भएका छन् ।

प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा मध्य वेस्ट बैङ्कको रमल्लाहमा भएको बैठकमा विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकले उत्तरी वेस्ट बैङ्कमा राहत हस्तक्षेप बढाउन संयुक्त प्रयासलाई तीब्र पार्ने उपायहरूबारे छलफल गरेको छ ।

बैठकले घरेलु पूर्वाधार र प्यालेस्टिनी सम्पत्तिको व्यापक विनाशमा वृद्धि भएको पनि उल्लेख गरेको छ ।

जनवरी २१ मा इजरायली सेनाले जेनिन सहर र उत्तरी वेस्ट बैङ्कका अन्य क्षेत्रहरूमा सुरक्षा अपरेशन सुरु गर्यो । उक्त अपरेशनको उद्देश्य आतङ्कवादी पूर्वाधार नष्ट गर्नु रहेको सेनाले जनाएको छ ।