२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताउँदै यसलाई नमनाउने प्रवृत्ति लोकतान्त्रिक हुन नसक्ने धारणा व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठनका लागि बसेको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फागुन ७ गते मुलुकको लागि सबैभन्दा ठूलो परिवर्तन ल्याउने ऐतिहासिक दिन भएकाले यसलाई जनस्तरमै मनाउनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले निरंकुशता र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनको रूपमा प्रजातन्त्र दिवस मनाउन सबैलाई आह्वान गरे। उनले यो दिवसलाई केवल औपचारिकतामा सीमित नगरी जनताको कार्यक्रमका रूपमा मनाउनुपर्ने धारणा राखे।

बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार मूल समारोह समिति तथा विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। समारोह समिति प्रधानमन्त्रीको अध्यक्षतामा रहनेछ भने उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सुरक्षानिकायका प्रमुखलगायतको सहभागिता रहनेछ।
यस वर्ष फागुन ६, ७ र ८ गते नेपालसहित विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा दीपावली गरिने छ। फागुन ७ गते टुँडिखेलमा विशेष समारोह आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।





