२९ माघ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले सदनलाई अवमूल्यन गर्दै जबर्जस्ती थोपरेको अध्यादेशलाई राष्ट्रिय सभाले ठोस जवाफ दिएको बताएका छन्। उनले राष्ट्रिय सभाले दुईतिहाइको अहंकार चकनाचूर परिदिएको दावी गरेका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सरकारको दुईतिहाइको अहंकारलाई धक्का दिएको उल्लेख गरे।
‘सरकारमा रहेका शक्तिहरू दुईतिहाइको दम्भमा थिए, तर राष्ट्रिय सभाले त्यसलाई ठेगान लगाइदिएको छ,’ प्रचण्डले भने। उनले अध्यादेशको गलत अभ्यासलाई माओवादी केन्द्रले कुनै हालतमा समर्थन नगर्ने प्रस्ट पार्दै यसको भविष्य जसपा नेपालको निर्णयमा निर्भर हुने बताए।
सदनलाई नजरअन्दाज गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति अस्वीकार्य रहेको प्रचण्डको धारणा छ। साथै, उनले वर्तमान सरकारले देशलाई गहिरो आर्थिक संकटतर्फ धकेलेको आरोप लगाउँदै जनतालाई थप मारमा पार्न लागेको चेतावनी दिए।