समाचार

पूर्वडीआईजी छवि जेल जान अस्वीकार, गुहार माग्दै पुगे उच्च अदालत

३० माघ, काठमाडौँ । पटक–पटक सहकारी ठगी आरोपमा तानिएका पूर्वडीआईजी छविलाल जोशी फेरि कानुनी लडाइँमा छन्। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका छन्।

जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको आदेशअनुसार सोमबार जोशीलाई थुनामा पठाइएको थियो। तर, उक्त आदेश पूर्वाग्रही रहेको दाबी गर्दै उनका छोरा एवं अधिवक्ता रोचक जोशीले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका छन्।

सहकारीको नाममा सर्वसाधारणको करोडौं ठगिएको घटनामा पटक–पटक मुछिएका जोशी यसअघि पनि धरौटी बुझाएर छुट्दै आएका थिए। पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ५० लाख धरौटी बुझाएर उनले छुट पाएका थिए। अब चितवनको सहारा सहकारी ठगीमा पनि उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ।