समाचार

सरकारी लापरबाहीको अर्को उदाहरण: विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा बाढी ! (फोटोहरु सहित)

३० माघ, काठमाडौँ । खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ । आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।

बबरमहल पुगेका खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् प्राधिकरणको गल्तीका भएको बताउदै भने, विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधि काम गर्‍यो । त्यसकै कारणले यस्तो घटना घटेको हो, लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’

काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीका प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए । उनले भने, “पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम वास आउट भइरहेको छ । हालसम्म पानी बग्न भने रोकिएको छैन ।”

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए ।