समाचार

शंखरापुरमा भयानक स्कुल बस दुर्घटना

३० माघ, काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो।

बस सत्यसाई स्कुलका विद्यार्थी लिएर नगरकोट पिकनिक गएर फर्कँदै थियो। शंखरापुरस्थित कात्तिकेबाट साँखु आउने जाने सडकमा दुर्घटना भएको जनाइएको छ। प्रहरीका अनुसार बसमा अन्दाजी ४०-५० जना सवार थिए, तर यकिन सङ्ख्या भने अझै पुष्टि हुन बाँकी छ।

प्रारम्भिक अनुसन्धानअनुसार, घुम्तीमा मोड्न नसक्दा बस सोझै कान्लाबाट तल खसेको हुनसक्ने अनुमान गरिएको छ। उद्धार कार्य तीव्र रूपमा जारी छ, घाइतेहरूलाई अस्पताल पुर्याउने कार्य भइरहेको छ। प्रहरीका अनुसार केहीको मृत्यु भएको आशंका छ, तर विस्तृत विवरण आउन बाँकी छ।