समाचार

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

३० माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न हुँदैन भनेका छन् ।

नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो, त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याएको योगदान अनुकरणीय छ रहेको चर्चा गर्दै नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत सङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको बताए । उनले भने, “विशेषत नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।”

सङ्गीतको शक्ति अपरम्पार छ, यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि हो भन्दै राष्ट्रपति पौडेलले बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्द्रिय एकतालाई बलियो बनाउने आधार रहेको बताए।

उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् भन्दै हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र सङ्गीत हो, यसले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउँछ भने ।

राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको बताउँदै स्रष्टाहरूलाई थप प्रेरणा र ऊर्जा थपेर सम्पूर्ण नेपाली गीतसङ्गीत क्षेत्रको विकासमा योगदान दिने मैले विश्वास लिएको बताए ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सङ्गीत महर्षी एवं बहुप्रतिभाका धनी नातिकाजी शब्द, सङ्गीत र स्वरको त्रिवेणी भएको चर्चा गर्दै देशभित्र आशा जगाउने किसिमले उनले राष्ट्रभक्तिका कालजयी गीतहरू गाएको बताए ।

समाजका अध्यक्ष एवं वरिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाले सङ्गीत महर्षी नातिकाजी श्रेष्ठको १००औँ जन्मजयन्तिको अवसरमा देशका नयाँ पुराना गीत सङ्गीत साधकहरूलाई सम्मान एवं पुरस्कृत गरिएको जानकारी दिए ।

त्यस अवसरमा नातिकाजीले गाएका ‘नेपाली हामी रहूँला कहाँ, नेपालै नरहे’, ‘यो नेपाली शीर उचाली’ बोलका गीत सहित अन्य राष्ट्रभक्तिले ओतप्रोत गीतहरू प्रस्तुत गरिएको थियो । नवगायिका स्मीता दाहालले तारादेवीको गीत ‘साँगुरी वारि नि हौ, त्यो धारा पानी’ बोलको गीत प्रस्तुत गरेका थिए ।

नातिकाजी स्मृति समाजका अनुसार नातिकाजीले ३३७ वटा आधुनिक नेपाली गीत, ९१ वटा देशभक्ति गीत, १० वटा बाल गीत र १९० वटा भजनमा सङ्गीत दिएका छन् । साथै उनले २२ वटा जति गीतिनाटकमा सङ्गीत दिएका छन् ।