३० माघ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।
ऊर्जामन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युत्मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारुपमा सहमति गरेका थिए । उक्त प्रसारण लाइन अगाडि बढाउन यही माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिवस्तरिय बैठक बसेर प्रारुपबारे सहमति भएकोमा भारतीय विद्युत्मन्त्रीलाई उर्जामन्त्री खड्काले धन्यवाद दिए ।
गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई उनले धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुक्खायामको पिक आवर बेलुका ६ बजेदेखि १० बजेसम्ममा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेकाले २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।
हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन । ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।