समाचार

पर्यटन प्रवर्द्धन गर्न उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड

१० फागुन, बाँके । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वैकल्पिक जीविकोपार्जनसँगै पर्यटन प्रवर्द्धन गर्न स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

आज बाँके राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यशाला गोष्ठीका सहभागीद्वारा स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जनासँगै आर्थिक अवस्था सुदृढ बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको हो ।

उक्त कार्यशाला गोष्ठीमा स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिका साथै विभिन्न उद्योग सञ्चालन गरिरहेका युवा व्यवसायी, सम्बद्ध सरोकार भएका निकायहरूको सहभागिता थियो ।

लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बाँकेको पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रका धार्मिकस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, “यहाँ पर्यटनका माध्यमबाट विकास गर्न सकिने धेरै सम्भावनाहरू छन् । पर्यटकीय गतिविधि सञ्चालन गरी स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्ने उद्देश्यले प्रदेश परिषद् ‘टुर प्याकेज’ का कार्यक्रम बनाउने योजनामा छ ।”

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने उद्देश्यले परिषद्ले बनाउने योजनामा अन्तरप्रदेश समन्वय र सहकार्यलाई जोड दिइने कार्यकारी निर्देशक जोशीले उल्लेख गरे । उनले पर्यटन व्यवसायका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिनिधिसभाका सांसद सूर्य ढकालले बाँके पर्यटकीय रूपमा प्रशस्त सम्भावना बोकेको जिल्ला रहेको बताउँदै तीनै तहका सरकारले आपसी समन्वय गरी विशेष योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सङ्घीय सरकारद्वारा गरिने भूमिकामा आवश्यक सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको मुलुक भएकाले यहाँ भएका धार्मिकस्थल, विभिन्न जातजातिका रीतिरिवाज, परम्परा, संस्कृति, खानपिनलगायको प्रवर्द्धन गरी स्थानीयलाई जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।