१४ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मानव जीवन के हो र जीवन निर्वाह कसरी गर्ने भन्नेबारे ज्ञान प्राप्त गर्न सकिएमा मानवको कल्याण हुने बताएका छन् ।
महाशिवरात्रि पर्वका अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आज धनगढीमा आयोजित समारोहमा उनले सबैले मान्ने धर्मप्रति सम्मान एवं आदर गर्न सकिएमा समाज थप सभ्य एवं सुसंस्कृत हुने बताए । उनले भने “सुदूरपश्चिम प्रदेश धर्म, संस्कृति, पर्यटनलगायतका दृष्टिमा सुन्दर रहेकाले यसलाई उजागर गर्न ब्रह्मकुरी ईश्वरीय विद्यालयले पहल गर्न जरुरी छ ।”
ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय धनगढीका प्रमुख ब्रह्मकुमारी हिरी दिदीले विकार र विकृतिले डुबेको मानवको मनलाई भगवानले नस्वीकार्ने बताउँदै आफ्नो मनभित्रको विकृति र नकारात्मक गतिविधिलाई त्याग्न सकिएमा सबैको कल्याण हुने बताए ।
समारोहमा प्रदेशसभाका सदस्यद्वय सन्तोषी शर्मा थापा र तुल्सी देवकोटा, सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति डा टिएन जोशी, महान्यायधिवक्ता ठेकेन्द्रराज जोशी, शिक्षाविद् डा हेमराज पन्त, वीरबहादुर जेठारालगायतका वक्ताले विकृति विसङ्तिमक्त समाज बनाउन ब्रह्मकुमारी ईश्वरी विद्यालयको भूमिकाको सराहना गरे ।