१७ फागुन । काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन आज उद्घाटन गर्दै उनले सरकारको आयु कहिले होला भन्ने भनेर हल्ला चलाउनेहरू मुलुकमा अस्थिरतामा रम्न चाहनेहरूको सपनामात्र रहेको बताए ।
“कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक–एक महिनामा एउटा–एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ”, उनले भने, “त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपनामात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।”
महासचिव पोखरेलले सरकारले निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको सहकार्य निरन्तर रहने बताए । अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।
भविष्यमा जनताले मन पराएको पार्टी सरकारमा र अर्को ठूलो पार्टी प्रमुख प्रतिपक्षमा जानुपर्ने उनको भनाइ छ । उनले अहिले ल्याउन थालिएका छवटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको बताए ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको भन्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नका लागि योजनाबद्ध पहल भइरहेको बताए । सरकारले व्यावसायिक वातावरण बनाउने कुरामा अत्यन्तै गम्भीरतापूर्वक लागेको उल्लेख गर्दै व्यावसायिक वातावरण तयार गर्न कुनै कानुनले व्यवधान खडा गरेको भए त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
होटल व्यवसायको सेवा विस्तारबिना पर्यटनको सम्भावना नरहेको बताए । महासचिव पोखरेलले समग्र अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न नसकेको भनाइ राखे । उनले मुलुक अहिले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलियो भएको भन्दै त्यो राम्रो नभएको सुनाए ।
“निर्वाहमुखी अर्थतन्त्र भएको समयमा हुन्थ्यो भने अनौपचारिक अर्थतन्त्र बलियो हुनु नराम्रो थिएन”, उनले भने, “तर आज हामी जुन प्रकारको आर्थिक, सामाजिक ढाँचाभित्र रहेका छौँ । त्यो ढाँचाले औपचारिक अर्थतन्त्र कमजोर हुने र अनौपचारिक अर्थतन्त्र बलियो हुने भन्ने कुरा राम्रो होइन ।”
नेपाल लोकतान्त्रिक व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालले सरकारले व्यवसायको वातावरण निर्माण बनाउनुपर्नेमा जोड दिए । होटल व्यवसायी सङ्घका अध्यक्ष माधव नेपालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भइरहेकाले व्यवसायी उत्साही भएको बताए । सङ्घले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।