१९ फागुन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन केपी ओलीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पुनः कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आग्रह गरेकी छन्।
आज ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यसअघि पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको र थप कम्युनिस्ट आन्दोलनलाई एकताका साथ अगाडी बढाउन महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने भनाइ राखेकी हुन्।
‘राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात् गर्नुपर्छ। बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,’ उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले विगतका कम्युनिस्ट आन्दोलनलाई ओलीले ऐतिहासिक भूमिका निर्वाह गरेको र आगामी दिनमा थप योगदान दिने विश्वास रहेको पनि बताइन्।
भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न ओलीले ठुलो योगदान पुर्याउनेमा उनको विश्वास रहेको छ।