२१ फागुन, काठमाडौँ । आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिना कारण हटाउन खोजिएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मानिस झाले सरकारले बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएका हुन्।
आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यवाहक प्रवक्ता समेत रहेका सांसद झाले सरकारप्रति प्रश्न उठाउँदै यस्तो बताएका हुन्।
‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौँ । कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्याउनेलाई मूल्याकंन जिरोमा गर्छौँ,’ झाले भने, ‘विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौँ ।’
उनले खबरदारी नै जारी गर्दै भने ‘खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौँ कुलमान लिएर आउनेछौँ ।’
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमानलाई हटाए सडक र संसदबाट आन्दोलन गर्ने चेतावनी दिए।