२२ फागुन, बर्दिबास । तराई मधेस जागरण अभियानको क्रममा महोत्तरी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै मिलेर यो देश बनाउनु पर्ने धारणा राखेका छन्। आज काठमाडौँका मेयर बालेन साहको पुर्ख्यौली घरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। ।
उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरूको घरमा, हामी आइपुगेका छौँ । यो पनि एउटा रमाइलो महसुस भाछ,’ उनले अघि भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’
सम्बोधनकै क्रममा अध्यक्ष दाहालले समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै उनले एकथरी मानिसले ती उपलब्धि उल्ट्याउने प्रयास गरी रहेको बताए । उनले भने ,‘हजारौँको बलिदान गरेर पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकको मुद्दालाई स्थापित नगरेको भए आज देश यो ठाउँमा हुने थिएन,’ ।
महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको मेयर बालेन साहको उक्त पुर्ख्यौली घरमा अध्यक्ष दाहाललगायतका नेताहरूलाई स्वागत कार्यक्रम राखेको थियो ।