राजनीति

रास्वपा सांसद खनालको प्रश्न : सरकारले जीबी राईलाई खोज्दै छ कि छैन ? 

२२ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन भनेर प्रश्न गरेका छन्।  आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद खनालले  धेरै रकम हिनामिना गरेको आरोप लागेका गोर्खा मिडियाका अध्यक्ष राईबारे सरकारलाई प्रश्न गरेका हुन्।  

सांसद खनालले सहकारी संसदीय विशेष छानबिन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको भने पनि सरकारले प्रतिशोध साँधेर दुःख दिएको आरोप लगाए। 

‘जीबी राईले साइन गरेको डकुमेन्ट त्यो सहकारी छानबिन विशेष समितिको अंश बनाइएको छ । बरु सरकार जीबी राईलाई खोज्दै छ कि छैन आजकल? प्रतिवेदनमा कम्पनीमा आएको रकम परिचालनमा मात्रै संलग्न रहेको लेख्दालेख्दै पनि सहकारी ठगीमा पक्राउ गरियो,’ उनले भने, ‘अनि पछि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा जोडियो।’

सांसद खनालले अघि भने,’ ८४ दिन हिरासतमा राखेर बल्ल मुद्दा दर्ता गरियो। अझै एउटा अदालतमा त मुद्दा पनि दर्ता भएको छैन। सरकारले अल्झाइराखेको छ। सत्तापक्षका माननीयहरूलाई पनि सहकारी ठगीको आरोप लाग्यो सामान्य सोधपुछ गरेर छोडियो।’