राजनीति

जसपाका नेपालका पूर्वसांसद साहसहित दर्जनौँ नेता कार्यकर्ता माओवादी प्रवेश

२३ फागुन, काठमाडौँ । जसपाका नेपालका नेता एवं पूर्वसांसद प्रमोद साह नेकपा माओवादीमा प्रवेश गरेका छन् । ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । 

नेता साह  २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी भएकाले आफूले यही दल रोजेको उनले बताए । 

उनीसँगै ठुलो सङ्ख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई अध्यक्ष दाहालले खादा र माला लगाएर स्वागत गरेका थिए।