२३ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले कुनै न कुनै रूपले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताएका छन्।
तराई-मधेस अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको बताएका हुन्।
अध्यक्ष दाहालले उक्त अवस्था आउन नदिन परिआएको खण्डमा काठमाडौँको सडकमा फेरि लाखौँको सङ्ख्यामा जनता उतार्नु पर्ने बताए।यसका लागि तराई-मधेसका जनतालाई उनले अपिल पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने,‘हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिर मर्का के छन्, किसानका समस्या, महिलाका समस्या, दलितका समस्या, मधेसका समस्या, आदिवासी जनजाति, मुस्लिमका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौँ । उनले अघि भने,’ यहाँका बुद्धिजीवी एवं व्यवसायीहरूको सोच के छ, किसानका समस्या के छन् भनेर बुझ्न र यहाँको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।,’
माओवादीले सुरु गरेको यस जागरण अभियानबाट जनताले ऊर्जा दिएको भन्दै उनले आफूहरूमा उत्साह थपिएको बताए । उनले भने,‘भाषण गर्नका लागि मात्रै यो अभियान चलाएका होइनौँ । भाषण भन्दा पनि यहाँका जनताको आर्थिक समस्या, राजनीतिक समस्या, सांस्कृतिक समस्या बुझ्ने अभियानका रूपमा लिएका छौँ । निकै ठुलो मात्रामा जनताका समस्या केन्द्रित गरेका छौ,’ उनले भने ।
तराई-मधेसको विकास, सिँचाइ, मलखाद, पर्यटक, रोजगारी, सीमा क्षेत्र लगायतका समस्यालाई आफ्नो पार्टीले सदनमा आवाज उठाउने उनले बताए ।