१ चैत, काठमाडौँ। नेकपा एकीकृत समाजवादीले ‘रोजगारी र सुशासनका लागि’ भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।
महासचिव भुसाल पार्टीका केन्द्रीय आन्दोलन संयोजन समितिका संयोजकसमेत रहेका छन्। उनले पत्रकार सम्मेलनमा राजनीतिलाई सत्ताको खेलबाट मुक्त पार्न आन्दोलन थालिएको जानकारी दिए।
‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो; बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बिच सहकार्य र एकताको अभियान हो’ भुसालले भने।
उनकाअनुसार आन्दोलनको पहिलो चरणमा चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका सङ्घ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन, चैत्र २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने तय भएको छ। चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने तय भएको उनले बताए।
वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने भुसालले जानकारी दिए।