२ चैत, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा देश लुट्न खोज्नेहरूको हातमा देश जान नहुने बताएका छन्। समाजवादी मोर्चाले शनिवार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै भने,’अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन।,’
जनतामा असन्तुष्टि बढेको र पूर्व राजा पोखराबाट काठमाडौँ फर्कने क्रममा त्यो सडकमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने बताए।
अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको तर्फ इङ्गित गर्दै नेपालले भने,’ अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामन्तवादी व्यवस्थामा जाने होइन । दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो।,’
व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर नभएर अग्रगमनको बाटो हिँड्नु पर्ने अध्यक्ष नेपालको भनाइ छ।