५ चैत, काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन मातहतलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले प्रहरी सङ्गठनको श्रीवृद्धिमा ध्यान दिन निर्देशन दिए ।
नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प सङ्गठन भएको चर्चा गर्दै महानिरीक्षक थापाले भने, “नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो ।”
सबै प्रहरी कर्मचारी सङ्गठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रित हुनुपर्ने बताउँदै सामूहिक भावना, भ्रातृत्व र आपसी एकताले मात्र सङ्गठनको सुदृढीकरण र उन्नतिको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।
सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूहले विभिन्न जातजाति, वर्ग, धर्म र संस्कृतिकाविरूद्ध गलत सूचना प्रवाह गर्ने, दूष्प्रचार गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुनसक्ने सामाजिक विचलन रोक्ने गरी कार्यसम्पादन गर्नु आवश्यक रहेको बताए । “चुनौतिका रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार–पसार, मानव तस्करी, आर्थिकलगायत अपराध अनुसन्धानका लागि थप क्रियाशील हुनुपर्छ”, महानिरीक्षक थापाले भने ।
‘





