१० चैत, काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले औद्योगिक क्षेत्रमा लगातार लोडसेडिङ भइरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले झुटो प्रचार गरिरहेको आरोप लगाएका छन्।
संघहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै २०७५ मा लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि त्यसयता प्रत्येक वर्ष उद्योगहरूमा नियमित रूपमा २ देखि १० घण्टासम्म लोडसेडिङ हुँदै आएको दाबी गरेका छन्। उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लोडसेडिङ भएको छैन भनेर किन ढाट्नु ? भन्दै प्रश्न समेत गेका छन् ।
उनीहरूले चौबिसै घण्टा विद्युत् उपलब्ध गराउन माग गर्दै प्राधिकरणले वास्तविकता ढाकछोप गर्दै आएको आरोप लगाए। ‘दिउँसो विद्युत् दिन्छौं, राति काट्छौं, तर लोडसेडिङ होइन भन्ने प्राधिकरणको दाबी झुटो हो,’ उनीहरूले भने।
उद्योगीहरूले उद्योगहरू निरन्तर सञ्चालन गर्न पर्याप्त विद्युत् आपूर्ति आवश्यक रहेको भन्दै यदि समस्या समाधान नभए उद्योगहरू बन्द हुने र मेसिनरी कवाडी बन्ने चेतावनीसमेत दिएका छन्।