११ चैत,काठमाडौँ। हिजो आइतबार बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे गरेको टिप्पणीले राजनीतिक वृत्त तातिएको छ। सभापति देउवाले शाह संवैधानिक राजा बन्न पनि लायक नभएको अभिव्यक्ति दिएका थिए।
पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक पनि नभएको र हुन पनि नसक्ने बताएका थिए।
सभापति देउवाले ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्। राप्रपाले पार्टी सभापति बनाए हुन्छ, राजनीति गर्ने भए पार्टी खोले भइहाल्यो। तर, राप्रपामा लाग्नेले धेरै दुःख पाउँछन्। पछि राप्रपा पनि पछुताउँछ। दुःख पनि पाउँछ।’ भनेका थिए।
केही दिन यता राप्रपाले राजसंस्था,हिन्दुराष्ट्र र प्रदेश खारेजीको माग गर्दै व्यवस्था नै बदलेर देशमा राजसंस्थाको स्थापना गर्नु पर्ने भन्दै सडक प्रदर्शन गर्दै आइरहेको छ। सोही प्रसङ्गमा सभापति देउवाले ज्ञानेन्द्र संवैधानिक राजा बन्न पनि लायक नभएको अभिव्यक्ति दिएका थिए। सभापति देउवाको उक्त टिप्पणीले राजनीतिक वृत्तमा हलचल ल्याइदिएको छ।
काँग्रेसको मुख्य नेतृत्वबाट यस्तो अभिव्यक्ति आउँदा राजावादीहरू झस्किएका छन्। राप्रपाका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले सभापति देउवाको उक्त भनाइ पार्टी सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका थिए।
सभापति देउवाले आफूलाई पूर्वराजा ज्ञानेन्द्रले पटक पटक जेल हाल्न खोजेको तर अदालतका कारण आफू जेल मुक्त भएको भन्दै अदालतको प्रशंसा समेत गरेका थिए।
