राजनीति

वर्तमान सरकारलाई काँग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

१२ चैत, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्।  

आज  प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा (आत्मकथा)’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारलाई पूर्ण समर्थन रहेको भन्दै  प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वस्त रहन आग्रह गरेका हुन्। 

सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको बताएका थिए। राजनीति फरक ठाउँमा रहेर गरे पनि मित्रवत् भावना सधैँ रहिरहेको देउवाको भनाइ छ। 

‘ओलीजी र हाम्रो पार्टीको बिचमा सहमति भएको छ। उहाँ र म जेलमा सँगै बसेको हो। उहाँ त जेलभित्रको पनि जेलमा बस्नुभएको हो, हाम्रो राजनीति आफ्नो ठाउँमा छ। हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ। हामीबिचको सम्बन्ध राम्रो भइरहेको छ। अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन। काँग्रेसको पूर्ण समर्थन छ।’ सभापति देउवाले भने।