१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योगदानलाई स्मरण गर्दै उहाँको संघर्षशील र दूरदर्शी नेतृत्वको चर्चा गरेका छन्।
एक विशेष समारोहमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँगको आफ्ना उतारचढावपूर्ण सम्बन्धबारे स्मरण गर्दै पहिलो पटक २०२५ सालमा नख्खु जेलमा भेट भएको बताए। उनले कोइरालालाई नथाक्ने, जुझारु र लडाकु स्वभावको नेता भन्दै आफू सभापति बन्नुमा पनि कोइरालाको योगदान रहेको उल्लेख गरे। देउवाले तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनका विरुद्ध आफू र गिरिजाप्रसाद कोइरालाले सँगै लडेको स्मरण गरे। “गिरिजाबाबुको योगदान नभए देश अझै द्वन्द्वमै हुन्थ्यो” उनले भने
कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले विगतबाट पाठ नसिकिएको भन्दै वर्तमान कांग्रेस-एमाले सरकारलाई सुशासनका लागि काम गर्न सुझाव दिए।
त्यस्तै, कांग्रेसका सहमहामन्त्री एवं सांसद भीष्मराज आङदम्बेले पार्टीभित्र देखिएका गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिए। कांग्रेस नेता डा. शशाङ्क कोइरालाले मुलुक र जनताको निम्ति गिरिजाप्रसाद कोइरालाले गरेको त्याग, बलिदान र सङ्घर्षबाट नयाँ पुस्ताले धेरै सिक्नुपर्ने धारणा राखे।
कार्यक्रममा कांग्रेस नेत्री सुजाता कोइरालाले लामो मेहनत र अनुसन्धानपछि तयार पारिएको आफ्नो आत्मकथा ‘म र मेरो सानो बुवा’ सार्वजनिक गरिएको जानकारी दिइन्। आत्मकथामा पारिवारिक तथा मुलुकको राजनीतिक घटनाक्रम समेटिएको उनले बताइन्।
यस विशेष समारोहमा कांग्रेसका शीर्ष नेताहरूले कोइरालाको योगदानको चर्चा गर्दै उनको आदर्शलाई पछ्याउनुपर्नेमा जोड दिएका थिए।