१६ चैत,काठमाडौँ। काठमाडौँ महानगरले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना निर्मल निवासलाई तिराउने भएको छ। आज पत्र लेख्दै महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना तोकेको छ।
एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १-१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी महानगरपालिकाले निर्मल निवासमा पठाएको छ। महानगरले वितण्डाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्रलाई ठहर गर्दै हो।
सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभाबी फोहोर गरेको, तीनकुनेमा रुख बिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको, महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका आरोपमा यो जरिवाना तोकेको महानगरपालिकाले पत्रमा उल्लेख गरेको छ।
दुर्गा प्रसाई र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको महानगरले ठहर गरेको हो।







