२३ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै समयका साथ गइसकेका विचार र पात्रहरूमा अल्झिनु बेकार भएको र यस बिषयमा कुरा गर्न समय नभएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले २०८० देखि ०९० सालसम्मको दशकलाई परिवर्तनको युग भन्दै, पुराना, अप्रासंगिक र अस्वीकार भइसकेका विषयमा समय खर्चिनु व्यर्थ रहेको उल्लेख गरे।
‘अबको ८/१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन,’ महामन्त्री थापाले भने ।
“हिजोका थन्काइसिएका पात्र र व्यवस्थामाथि बहस गरेर अगाडि बढ्न सकिँदैन, हामी अबको भविष्य निर्माणतर्फ लाग्नुपर्छ। उनले भने ।