राजनीति

सरकारले विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्छ : वरिष्ठ नेता डा. कोइराला 

२४ चैत, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत शिक्षकहरूको माग सम्बोधन गरेर उनीहरूलाई नियमित काममा फर्किने वातावरण बनाउनु पर्ने बताएका हुन्।

वरिष्ठ नेता डा. कोइरालाले लेखेका छन् ,‘सरकार र महासङ्घबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।,’ 

शिक्षा ऐन जारी नभएसम्म आन्दोलन गरिरहने भन्दै देशभरका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौँमा भेला भएर प्रदर्शन गर्दै आएका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ। नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन गर्नको लागी भोली चैत २५ गते देखी आम शैक्षिक हड्तालसमेत घोषणा  गरेको छ।