समाचार

तीनकुने प्रकरण: एक सय आठ जनालाई मुद्दा चलाउनु पर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन 

९ जेठ, काठमाडौँ। प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। झन्डै दुई महिना लामो अनुसन्धान पछि हिंसात्मक घटनामा संलग्न भनिएका एक सय आठ जनालाई मुद्दा चलाउनु पर्ने राय सहित प्रतिवेदन बुझाएको हो। 

प्रतिवेदन पेस भएपछि आजै मुद्दा दर्ता गर्ने तयारी भए पनि समय अभावका कारण आइतबार मात्रै मुद्दा दर्ता हुने भएको हो। कुन व्यक्तिलाई कुन मुद्दा चलाउने बारे पनि निश्चित गर्नु पर्ने वकिल कार्यालयले  बताएको छ। 

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रहरीले हाल ५३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने केहीलाई बाहिर राखेर अनुसन्धान गरिरहेको छ।  केही अभियुक्तहरू भने पक्राउ पर्न बाकी छन्।  राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणालगायतका केहीलाई प्रहरीले बाहिर नै राखेर अनुसन्धान गरिरहेको छ।