काठमाडौं । शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
एक विज्ञप्ति जारी गर्दै ‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’
महासंघले गत चैत २० देखि २९ दिन लामो सडक आन्दोलन गरेको थियो, भने ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सरकारसंग सहमति भएको थियो । तर समयसीमाभित्र ऐन जारी नभएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।
राज्यपक्षप्रतिको आकोश, निराशा र अविश्वासको ‘त्यसबाट उत्पन्न हुने असहज परिस्थिति र परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने कुरा समेत प्रष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।









