काठमाडौं । सिन्धुलीको कमलामाइ नगरपालिकाका तत्कालीन मेयर खड्ग बहादुर खत्रीले “नगर युवा स्वरोजगार कार्यक्रम” अन्तर्गत राज्यको ठूलो रकम अनियमित रूपमा आफ्ना कार्यकर्ता र नजिकका व्यक्तिहरूलाई वितरण गरेको पाइएको छ ।
कमलामाई नगरपालिकाले सञ्चालन गरेको “नगर युवा स्वरोजगार कार्यक्रम” ऋण फिर्ता नहुँदा संकटमा परेको छ। आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा बिनाव्याज, बिनाधितो ऋण दिएपनि धेरै लाभग्राहीले रकम फिर्ता नगरेपछि कार्यक्रम स्थगित भएको हो।
सामाजिक छवि र पहुँच प्रयोग गरी ऋण लिने केही कलाकार, पत्रकार र उद्यमीले योजना कार्यान्वयन नगरेको भन्दै दुरुपयोगको आरोप लागेको छ।
ऋण नउठ्दा नयाँ युवाहरूले अवसर गुमाएका छन्।बर्तमान मेयर उपेन्द्र पोखरेलले यस विषयमा सार्वजनिकरूपमा जानकारी दिँदै, जनताको करबाट संकलित रकम दुरुपयोग भएको स्पष्ट प्रमाणसहित विवरण सार्वजनिक गरेका हुन्।
कार्यक्रमको नाममा लाखौं रुपैयाँ बाँडफाँट गरी व्यक्तिगत लाभ उठाउने कार्यले नगरपालिका प्रशासनप्रतिको जनविश्वासमा आँच पुर्याएको भन्दै सर्वसाधारणले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
यस कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र राज्य सेवाबाट वञ्चित गरिनुपर्ने आवाज उठिरहेको छ।
नगरपालिकाले अब कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ। योजना राम्रो भए पनि निगरानी र पारदर्शितामा कमजोरी देखिएको जनाइएको छ। नेपाल समाचारपत्रबाट





