काठमाडौं । लामो समयको मौनता तोड्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी खुला संवादमा जुट्न थालेका छन् । राष्ट्रपतिको जिम्मेवारीमा प्रस्तावित भएपछि पार्टी सदस्यता त्यागेर पार्टी मुख्यालयबाट बाहिरिएको ९ वर्ष ९ महिनापछि औपचारिक रूपमा पार्टी जिम्मेवारीसम्बन्धी छलफल गर्न मुख्यालय पुगेकी हुन् ।
पार्टी मुख्यालयमा भएको छलफलपछि बाहिरिँदै गर्दा भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएसँगै विगत केही सातायताका सवालको त जवाफ प्रस्टिएको छ । यसले आगामी राजनीतिको समेत ‘सिन क्लियर’ भएको छ ।
२०५४ सालमा भएको पार्टीको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य भई केन्द्रीय कमिटीको उपाध्यक्षसम्म भइसकेकी भण्डारीको पार्टी सदस्यताकै विषयमा भएको बहसले पार्टीलाई गतिशील बनाएको पार्टी पंक्तिको निष्कर्ष छ ।
केही समययता भएका बहसलाई एकमुष्ठ जवाफ दिँदै यसले भण्डारीलाई आगामी दिनको ‘लिडरसिप प्रोजेक्सन’समेत गरिएको प्रस्टिएको छ । पाँचौं महाधिवेशनदेखिको एउटै कमिटीको सहकार्य र राष्ट्रपति हुँदाको समयको भूमिकामा समेत प्रधानमन्त्री ओलीसँगको विश्वासिलो सम्बन्ध नयाँ परिवेशमा नयाँ ढंगले स्थापित हुँदै गरेको देखिएको छ ।
ओली–भण्डारी सम्बन्धका ऐतिहासिक कोण र नेकपा एमालेभित्रको खास टिमबाट प्राप्त सूचनाहरूको विश्लेषण गर्दा यसअघि चलेका सकारात्मक नकारात्मक हल्लाहरू एमालेमा भावी नेतृत्वका रूपमा भण्डारीलाई स्थापित गर्ने पूर्वाभ्यासकै रिहर्सलहरू हुन् ।
राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि विभिन्न समयमा ओलीले दिने गरेका अभिव्यक्ति र भण्डारीका गतिविधिहरूले आउँदो नेतृत्वका रूपमा भण्डारीलाई देख्न सकिने आधार तय भएको नेकपा एमालेका नेताहरूले बताउन थालेका छन् ।
राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै सदस्यता नवीकरण भएको चर्चादेखि १ वर्षअघि नवीकरण भएको चर्चा चलिरहँदा पछिल्ला केही दिन सदस्यता ‘होल्ड’देखि ‘नयाँ प्रक्रियाबाट लिनुपर्ने’ भन्ने सम्मका चर्चा भए । तर, यी सबै चर्चा भण्डारीलाई पार्टी नेतृत्वका रूपमा ‘प्रोजेक्सन’ गर्ने ओली शैली भएको राजनीतिक विश्लेषकहरूको दाबी छ । ओली र विद्या एक अर्काका परिपूरकजस्तै हुन् उनीहरूको यो विवाद पार्टीभित्रको अन्तद्र्वन्द्वको व्यवस्थित ध्रुवीकरणका लागि कृत्रिम ढंगले सिर्जना गरिएको हो ।
विद्या नेतृत्वमा व्यवस्थित ध्रुवीकरण !
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा भएको प्रत्यक्ष ध्रुवीकरणलाई पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई पहिचान पनि गर्ने र बाहिर जान नदिने व्यवस्थित योजना भएको समेत विश्लेषण गर्न थालिएको छ ।
भण्डारीलाई पार्टी राजनीतिमा ओलीले सिधै प्रस्ताव गरेको खण्डमा विरोध गर्नसक्ने सम्भावित व्यक्तिहरूसमेत अहिले भण्डारीलाई सक्रिय ढंगले साथ दिइरहेका छन् भने ओलीविरोधी मोर्चा त पूर्ण रूपमा भण्डारीको छाताभित्र गोलबद्ध भइसकेको छ ।
नेकपाभित्रको अन्तरसंघर्षमा ओलीको विपक्षमा रहेका तर अन्तिम समयमा एमालेमै रहेका ‘दस भाइ’ मोर्चा पनि भण्डारीको छातामुनि बलियो ढंगले गोलबन्द भइसकेको छ ।
पार्टीभित्र मौन रूपमा गुम्सिएका गुटहरू स्पष्ट रूपमा दुई समूहमा खुलेपछि व्यवस्थापनको रणनीति निर्माण गर्न सहज हुने मनसायले अध्यक्ष ओलीले ‘लुज’ छोडेरै बहस चर्किन दिएका हुन् । अध्यक्ष र पूर्वराष्ट्रपतिका विषयमा द्वन्द्व हो कि भनेर आशा गर्नेहरू आजको भेटपछि चकित भएका छन् । ‘उहाँहरूमा खास समस्या छैन थिएन, छैन र हुँदैन पनि’ केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य माधव ढुंगेलले दाबी गरे ।
भावी नेतृत्वलाई ‘भाइब्रेन्ट स्पेस’
सिंगै पार्टी पंक्तिलाई गतिशील र ऊर्जाशील बनाउँदै हस्तान्तरण गर्न पनि पार्टीभित्र यस्तो किसिमको छलफल होस् भन्ने नेतृत्वको चाहनामै यो छलफल भएको हुनसक्छ खासमा उहाँहरूबीचमा अन्तद्र्वन्द्व नहुनसक्छ भन्ने तर्क पार्टीका सिनियर नेता युवराज ज्ञवालीको छ ।
‘पार्टी नेतृत्व छोडेपछिको बीचमा नेता कार्यकर्ताहरूसँगको सम्बन्धमा पुनर्ताजगी ल्याउन पनि यस बहसले काम ग¥यो, आजभोलिको जमानामा पार्टी पंक्ति चलायमान बनाउने यो राम्रो काइदा हो,’ ज्ञवालीले राजधानीसँग भने, ‘यसले भावी नेतृत्वका रूपमा जोसुकै भए पनि पार्टीभित्र निष्क्रिय रहेको जनशक्ति चलायमान भएको छ ।’
भण्डारी र ओलीले आआफ्ना शैलीले कार्यकर्ता र बाहिर जनमानसको चाहनाअनुसार अभिव्यक्ति दिए पनि आन्तरिक समन्वय भइ नै रहेको हुनसक्ने दुवैतिरका कोर टिमका नेताहरू बताउँछन् ।
पोलिटब्युरो बैठकमा बोल्दै गोकुल बाँस्कोटाले भनेका सन्दर्भले पनि त्यसलाई प्रमाणित गर्छ । बाँस्कोटाले भनेका छन्, ‘दुवै नेताहरूको सम्बन्ध लामो समयदेखि सबैलाई थाहै छ उहाँहरू बसेर मिलाउनुहुन्छ ।’ शनिबार बैठकमा बाँस्कोटाले भनेकै शैलीमा आइतबार भएको भेटले सांकेतिक रूपमा भण्डारीको ‘पोलिटिकल सेफल्यान्डिङ’को वातावरण अनुकूल बनेको देखिएको छ । राजधानी दैनिकबाट





