पर्यटन/संस्कृति

आज साउनको पहिलो सोमबारः पशुपतिनाथ मन्दिरको चारै ढोका खुला

काठमाडौँ । आज साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनहरुको भिड लागेको छ । बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो।

आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान पशुपति क्षेत्र विकास कोष ले लगाएको छ ।

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् ।

साउने सोमबारका अवसरमा विशेष गरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।