पत्रपत्रिका

यसरी बन्दैछ पाटन अस्पताल अब १० तले, ६ सय शैय्या थपिँदै

६ साउन, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको पाटन अस्पतालले ६ सय शय्या थप गर्ने भएको छ । यससँगै लगनखेलस्थित अस्पताल १ हजार २ सय शय्याको हुनेछ । झन्डै ५२ रोपनी क्षेत्रफलको जग्गाभित्रै अस्पतालको सम्पूर्ण संरचना रहनेगरी निर्माण योजना अघि बढेको छ ।

– १० तले भवन, १ हजार २ सय शय्या
– ५२ रोपनी जग्गामा थपिँदै १० अर्ब रुपैयाँ लागत
– शय्या मा बसेर उपचार गराउने २६ हजार
– ५ लाख ३० हजारलाई ओपीडी सेवा

प्रतिष्ठानका रजिस्ट्रार प्राडा पारसकुमार आचार्यका अनुसार, ६ सयवटा शय्या थप भएपछि अस्पताल १० तलामा विस्तार हुनेछ ।

प्रतिष्ठानले नियुक्त गरेको परामर्शदाताले प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन बुझाएसँगै नक्सा पासको प्रक्रिया सुरु भएर ३ वर्षभित्रमा निर्माण सम्पन्न हुने लक्ष्य रहेको रजिस्ट्रार आचार्यले बताए ।

अस्पतालले हाल कायम ६ सय ५० शय्या क्षमताबाट सेवा प्रवाह गर्न कठिन भइरहेको रजिस्ट्रार आचार्यले बताए । उनले अस्पतालले १ हजार २ सय शय्या क्षमता थप गर्ने बताए । हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको पाटन अस्पतालले लगनखेलकै साविक भवन हटाएर क्षमता विस्तार गरी शय्या थप गर्ने प्रक्रिया अघि बढाएको प्रतिष्ठानका रजिस्ट्रार आचार्यले बताए ।

अस्पतालले अन्तरंग विभागअन्तर्गत वार्षिक २६ हजारभन्दा बढी बिरामीलाई सेवा दिइरहेको र ५ लाख ३० हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेको जनाएको छ । अस्पतालको नयाँ भवन जमिनमुनि दुई तला र जमिनमाथि ८ तला गरी १० तला हुनेगरी नक्साको योजना बनेको छ । अस्पताललाई आधुनिक प्रविधि, उपकरण र भौतिक पूर्वाधारयुक्त बनाउन १० अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको रजिस्ट्रार आचार्यले बताए । आचार्यका अनुसार नक्सा पासलगायतका कामहरू चालू आर्थिक वर्षबाटै हुनेगरी गत ३१ असारमा पारित प्रतिष्ठानसभाको १५औं बैठकले निर्णय गरिसकेको छ ।

युनाइटेड मिसन टु नेपालले ५० वर्षअघि शान्तभवन अस्पतालका रूपमा स्थापना भई सन् १९८२ मा ललितपुर अस्पतालसँग गाभिएर बनेको पाटन अस्पताल मिसनले हस्तान्तरण गरेसँगै २४ माघ २०६४ बाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा रुपान्तरण भएको थियो । प्रतिष्ठानअन्तर्गत प्राज्ञिक परिषद् र प्राज्ञिक कार्यक्रमहरू विस्तार भएसँगै प्राज्ञिक महŒव विस्तार भएपछि अस्पतालमा बिरामीको चाप झन् बढ्ने गरेको अस्पताल प्रशासनमा लामो समय बिताएका प्रशासकहरूको अनुभव रहेको छ । तत्काल नक्सापास हुन्छ स् नगरप्रमुख
पाटन अस्पतालको सेवा विस्तारका लागि भवन निर्माण आवश्यक भएकाले प्रक्रिया पूरा हुनासाथ नक्सा पास हुने ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बताए ।

‘पाटन अस्पताल ललितपुर महानगरपालिकाका लागि गौरवको विषय भएकाले सुधार र विकासका धेरै काममा महानगरपालिकाले सहयोग गरिरहेको छ, भइरहेकै भवनहरू हटाएर त्यही ठाउँमा बहुतले भवन बनाउने कार्य भएकाले प्रक्रिया पूरा हुनासाथ नक्सा पास हुनेछ,’ नगरप्रमुख महर्जनले भने ।

दैनिक सय जना उपचार गर्ने क्षमताको पाटन अस्पतालसँगकै सहकार्यमा महानगरले सुरु गरेको महानगरीय अस्पतालमा क्षमताभन्दा चारगुणा बिरामी आउने गरेको बताउँदै नगरप्रमुख महर्जनले भने, ‘हाम्रो मात्र नभई देशकै गौरव र महत्वको यस अस्पताललाई समयअनुसारको प्रविधि र पूर्वाधारयुक्त बनाउनका लागि सकेको सहयोग र सहकार्य हुन्छ ।’

ललितपुर महानगरपालिकाले पाटन अस्पतालको हरेक शय्यामा पुग्ने अक्सिजन प्लान्ट र मर्चरी हाउस निर्माणका लागि विगतमा पनि सहयोग गरेको नगरप्रमुख महर्जनले बताए । राजधानी दैनिकबाट