८ साउन, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१र०८२ मा ७६ लाख ४३ हजार २ सय ४३ राजस्व संकलन गरेको छ।
कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व संकलन गरेको हो। गत आवमा १ करोड ३ लाख ५९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताएका छन्। राजस्व संकलनको लक्ष्य बढी भएकाले गत आवमा लक्ष्य पूरा हुन नसकेको उनको भनाइ थियो।
भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको उनले बताएका थिए । आव २०८०र ०८१ मा कार्यालयको ५० लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्य भन्दा बढी ८६ लाख ८४ हजार ९० संकलन भएको थियो ।
झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनी लगायत घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ । भारतीय बजारबाट आयात हुने सामग्रीबाट राजस्व संकलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिएका छन्। सोही नाकाबाट निर्यात भने शून्य अवस्थामा रहेको हो।
केही वर्ष अघिसम्म घ्यू र कृषि उपज निर्यात हुने गरेको थियो ।





