शिक्षा

भरतपुर महानगरद्वारा साढे ४ सय विद्यार्थी छात्रवृत्तिका लागि छनोट

९ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकाले ४ सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ ।

महानगरले विद्यालयमा भएका विद्यार्थी सङ्ख्याको आधारमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो । छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले छनोट भएका ४ सय ३८ विद्यार्थीले कक्षा ११ र १२ दुवैमा छात्रवृत्ति पाउने जानकारी गराएका हुन् । गत वर्ष २ सय ६६ जनाले मात्र कक्षा ११ र १२ मा छात्रवृत्ति पाएका थिए ।

यस पटक भने ४ सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको उनले बताएका छन्। छनोटमा परेका विद्यार्थीलाई ३ दिनभित्र महानगरको कार्यालयमा प्रमाणसहित दावी पेश गर्न अनुरोध गरिएको समेत प्रमुख आचार्यले बताएका हुन्। प्रमुख आचार्यले छनोटमा परेकामध्ये २ सय १९ जना छात्रा रहेको बताए ।

छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले निवेदन दिएको पनि उनको भनाइ थियो। महानगरले बनाएको मापदण्डभित्र परेका विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको उनको भनाइ छ । विज्ञान विषयमा छात्रवृत्ति पाउने विद्यार्थी ३ सय ३० जना छन् भने अन्य विषयमा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या १ सय ८ जना रहेको उनले जानकारी दिएका थिए ।

सामुदायिकबाट २ सय २० र संस्थागतबाट २ सय १८ जनाले छात्रवृत्ति पाएका छन् । विद्यार्थीलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ (संशोधनसहित) को दफा ११ को उपदफा (४) बमोजिम छात्रवृत्ति प्रदान गर्न छनोटका लागि इच्छुक विद्यार्थीबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन माग गरिएको थियो ।

कार्यविधि अनुसार जेहेन्दार १ सय ६२, गरिब तथा विपन्न एक सय ६२, आदिवासी जनजाति ५३, दलित २६, सीमान्तकृत ९ , अपांगता भएका १३, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइते १३ जना विद्यार्थी छनोट गरिएको प्रमुख आचार्यले जानकारी दिएका छन् ।

छात्रवृत्ति पाएका विद्यार्थीले भर्ना र मासिक शुल्क बुझाउन पर्दैन भने अन्य सबै शुल्क विद्यार्थी आफैंले बुझाउनुपर्ने उनले बताएका हुन् ।