१० साउन, काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ।
सोही बैंक सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका साथ २०६५ सालको श्रावण ९ गते स्थापना भएको थियो । बैंकले साउन ९ गते शुक्रबार गौरवमय १७ वर्षको सफल यात्रा पूरा गरि १८औं वर्षमा प्रवेश गरेको छ। प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए। सोही समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालक र कर्मचारीवर्गहरुको बाक्लो उपस्थिति रहेको थियो।
बैंकका अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरेर औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। बैंकले वार्षिकोत्सवको दिन २४ एक्स सेभेन उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको हो । जसले सरल इन्टरफेस, भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ। जसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ।
त्यस्तै, बैंकले बैंकले अन्तरबैंक टेलर क्यूआर सेवा समेत सुरू गरेको हो। सोही सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्ने बैंकले जनाएको छ । जुन सेवा विशेषगरी एटीएम वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुने दावी गरिएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता समेत गरेको हो।
तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुने भएको छ। राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिने भएको हो। त्यस्तै, ई-नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रिडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ।
त्यसैगरी, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा ७ वटै प्रदेशमा १ हजार ७ सय वृक्षारोपण गरिने समेत बैंकले घोषणा गरेको थियो।





