आर्थिक

ज्योति विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालन

१३ साउन, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले अन्तर बैंक टेलर क्यूआर भुक्तानी सेवा संचालनमा ल्याएको छ।

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै सोही भुक्तानी सेवा संचालनमा ल्याएको हो । यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरुले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्ने भएका छन् ।

ज्योति विकास बैंकको शाखाहरुमा र क्यूआरलाई स्क्यान गरेर नगद निकाल्न पाइने यस सुविधाले आमनागरिकहरुलाई थप सहजता हुने विश्वास बैंकले लिएको हो। यस सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ्ग सुविधा सक्रिय रहेको हुनुपर्ने जनाइएको छ ।

भविष्यमा अझ प्रभावकारी र नविनतम समाधान मार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता समेत रहेको छ।