पर्यटन/संस्कृति

पर्वतारोहण सङ्घको निर्बाचन एजेण्डाः पर्वतीय पर्यटन विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता

१३ साउन, काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्वका लागि आकांक्षीले धमाधम उम्मेदवारी घोषणा र भावी एजेन्डा सार्वजनिक गरिरहेका छन् ।

सङ्घको आगामी भदौ ७ गते हुने निर्वाचनमा अध्यक्ष पदका हालसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्  । उनीहरूले संस्थागत सुधार र व्यावसायिक हितका लागि पहल गर्ने खाकासहित चुनावी मैदानमा उत्रिएको बताइरहेका छन्  ।  

सङ्घको अध्यक्षका लागि आज फुर्वा ग्याल्जेन शेर्पाले उम्मेदवारी घोषणा गरे । उनले पत्रकार सम्मेलन गरी नेतृत्वमा पुगेको खण्डमा गर्ने मुख्य कामको विवरण पनि प्रस्तुत गरे । यसअघि अध्यक्षका प्रत्यासी कुलबहादुर गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरी भावी कार्यक्रम प्रस्तुत गरिसकेका छन् । उनले आफू नेतृत्वमा आए सङ्घको गरिमालाई उचो बनाउने गरी काम गर्ने भन्दै विभिन्न मुद्दाहरू सार्वजनिक गरेका थिए ।

शेर्पाले पनि ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्वर्द्धनका लागि मेरो उम्मेदवारी’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरे । उनले सङ्घको विधान र परिधिभित्र रहेर आफ्ना सदस्यहरूको हित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले आरोहीको हित संरक्षणका लागि र आपत्कालीन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्षका प्रत्यासी शेर्पाले पर्वतीय पर्यटन विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । विश्वविद्यालय सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुने र विदेशीलाई अध्ययनका लागि ल्याउन सकिने उनको धारणा छ ।

यस्तै, सगरमाथा आरोहणसम्बन्धी उत्कृष्ट तालिम केन्द्र सञ्चालन गर्ने, कीर्तिमानी आरोहीको सम्मान र प्रतिष्ठा बढाउने तथा हिमाल संरक्षण र सरसफाइका अभियान सञ्चालन गर्ने शेर्पाको प्रतिबद्धता छ ।