१३ साउन, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन नहुने बताएकी छन् ।
कांग्रेस कास्कीले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टी संगठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यहि प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने तर्क थियो । पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ नभएको बताउदै उनले यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो उनको भनाइ छ ।
कांग्रेसका सस्थापक नेता विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको समेत उनले स्मरण गरेकी छन् । उनीहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न जरुरी रहेको मन्त्री देउवाको तर्क थियो । आसन्न पार्टीको १५ औं महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने उनको विश्वास छ ।
उनले नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गरेकी थिइन् । उनले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिएकी छन् । पछिल्ला समयमा देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको समेत उनले बताएकी छन् ।
युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु सबैको दायित्व भएको मन्त्री देउवाको भनाइ थियो ।





