राजनीति

भारतमा बाढीमा परी बेपत्ता नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री देउवाको निर्देशन

२३ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल शुरु भइसकेको बताएकी छन् ।

सोही बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरु भएको उनले जानकारी दिएकी हुन्। बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको उनको भनाइ छ । उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

मन्त्री देउवाले नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको समेत बताएकी हुन् । बाढी र पहिरामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त समेत उनले गरेकी छन् ।