२४ साउन, ताप्लेजुङ । तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुँने भएको छ ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिस्पर्धा गर्दैछ ।
दुवै टिम विदेशी खेलाडीसहित प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबारको विजेताले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।
भारतको एकसहित नेपालका चार वटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने भएको छ ।
प्रतियोगिताको विजेताले नगद रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले मोटरसाइकल समेत प्राप्त गर्नेछ ।
क्वाटर फाइनल चरणका चार वटा खेलहरूका लागि १००, सेमिफाइनलमा २०० र फाइनलमा २५० टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । मैदानमा करिब ९ हजार बढी दर्शक अटाउने गरी बाँसबाट प्यारापिट बनाइएको छ ।





