२४ साउन, झापा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट पर्यटक भित्र्याउने योजनामा सरकारले काम गरिरहेको दावी गरेका छन् ।
काँकडभिट्टा खेलमैदानको शनिबार निरीक्षण गर्दै उनले यस्तो दावी गरेका हुन । पूर्वीनाकामा रहेको खेलमैदानमार्फत काँकडभिट्टाले नेपालमा पर्यटक भित्र्याउन सक्ने उनको भनाइ छ । मन्त्री चौधरीले संघीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा ३ करोड बजेट विनियोजन गरेको जानकारी समेत गराएका छन् ।
क्रिक्रेट, फुटबल र भलिबल खेलेर नेपाली खेलाडीले लाखौंं लाख रुपैयाँ आर्जन गरेका थुप्रै उदाहरण रहेको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै उनले दुई ठूला देशकोबीचमा हामी भएको र एसियाली राजमार्ग निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्व अन्तर्राष्ट्रिय रुपमा बढेर जाने बताएका थिए । खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य, पर्यटनको माध्यम भएको र देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीको अतुलनीय योगदान रहेको चर्चा समेत मन्त्री चौधरीले गरेका छन् ।
सरकारले खेलकुद क्षेत्रका लागि अहिले ६ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा उनले छिटो भन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनुपर्नेमा जोड दिएका छन् । खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको समेत उनको दावी छ ।
सोही अवसरमा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, पूर्वनगरप्रमुख विमल आचार्य लगायतले काँकडभिट्टाको खेलकुद गतिविधि र मैदानका समस्या बारेमा मन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए । मन्त्री चौधरीले शनिबार मेचीनगरको चारआलीमा आयोजना हुने इन्डो–नेपाल इन्टर स्कुल कराते प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।





