अन्तर्राष्ट्रिय

सुडानमा कुपोषणका कारण ६३ जनाको मृत्यु

२६ साउन, एजेन्सी । सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण एक हप्ताभित्र ६३ जनाको मृत्यु भएकाे छ ।

जसमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार राति जानकारी दिएका हुन् । आधिकारिक विवरण अनुसार यो संख्या केवल अस्पतालसम्म पुर्याइएका बिरामीहरू मात्रै हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा अधिकाश परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिकन गाडेका छन् ।

गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ) को घेराबन्दीमा परेको छ । सोही समूह सुडानको नियमित सेनासँग २०८० सालको वैशाखदेखि युद्धरत छ । एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूला सहरहरूमध्ये एक हो । राजधानीबाट फिर्ता भएपछि सोही समूहले हालै फेरि आक्रमण बढाएको छ ।

गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि १० औं हजार व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमै शरण लिन बाध्य भएका छन् । १ समय जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू खाद्यान्न अभावका कारण बन्द भइसकेका छन् ।

केही परिवारका मािनसहरु भने पशुचौँरीलाई दिने घाँस र फालिएका खानेकुरा खाएर गुजारा गरिरहेकाे एजेन्सीले जनाएकाे हाे ।