७ साउन, नयाँ दिल्ली । अमेरिका–इरानबीचको जारी द्वन्द्वले देशको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरेको भारतको संघीय सरकारले बिहीबार जानकारी गराएको छ । सरकारका अनुसार युद्ध सुरू भएदेखि जुलाई २० तारिखसम्म करिब २६ हजार उडानहरू प्रभावित भएका छन् ।
उडान मार्ग परिवर्तन गर्नुपर्दा र उडान अवधि लम्बिँदा सञ्चालन खर्च बढेको कारण भारतीय वायुसेवा कम्पनीहरूलाई ठूलो राजस्व घाटा भएको सरकारले जनाएको छ ।
यो जानकारी भारतीय संसदको तल्लो सदन (लोकसभा) मा सङ्घीय उड्डयनमन्त्री मुरलीधर मोहोलले दिएका हुन् ।
उनले भने, “मध्यपूर्वमा द्वन्द्वबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै भारतको नागरिक उड्डयन नियामक निकायले यात्रु, चालक दल र विमानको सुरक्षाका लागि धेरै पटक सुझाव जारी गरेको छ ।
मन्त्रीले सरकारले उड्डयन क्षेत्रलाई सहयोग गर्न र हवाई यात्रालाई किफायती राख्नका लागि विभिन्न कदम चालेको बताए । यात्रुहरूलाई कमभन्दा कम असुविधा होस् भन्नका लागि सरकारले २४ घण्टा सञ्चालन हुने यात्री सहायता नियन्त्रण कक्ष स्थापना गरेको, एयरलाइन्सलाई रिफन्ड र पुनः तालिका मिलाउन निर्देशन दिएको, विमानस्थलका सहायता कक्षलाई सक्रिय एवं बलियो बनाएको र प्रभावित भारतीय नागरिकहरूलाई सहयोग गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय गरेको उनले बताए ।





