गण्डकी प्रदेश

पहिरोका कारण बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरूद्ध, मुस्ताङ घुम्न जाने पर्यटक पनि प्रभावित

२६ साउन, म्याग्दी । म्याग्दीको बेनी–जोमसोम सडकखण्डको म्याग्दी खण्ड सोमबार बिहानदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सोही सडक अवरुद्ध भएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर खुलाउने प्रयास भइरहेको बताएका थिए । वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको हो।

प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द भएको छ। स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्किंने पर्यटकहरू समेत प्रभावित भएको प्रहरी कार्यालयले जनाएको हो ।