समाचार

‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ स्वीकृत, कारागार सुधार गर्न साँसदहरुकाे जाेड

२९ साउन, काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताए । आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उनले जानकारी गरा्रए । यसअघि विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपको जोखिममा दलित तथा विपन्न वर्ग पर्ने गरेको बताईन् । उनले दलित र उत्पीडित वर्गका धेरै नागरिकले संविधानले प्रत्याभूत गरेको मौलिक हकको उपयोग गर्न नपाएको बताईन् । उनले भनिन्, “एकाध बाहेकले चरम गरिबी र अभाव भोगिरहेका छन् । भूमिहीन दलितले आजसम्म पनि एक टुक्रा जमिन पाएका छैनन् । दलित र भूमिहीनहरुलाई जमिनको व्यवस्था सरकारले गरोस् ।” उनले सरकारी स्वामित्वमा रहेका नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको संरचनागत र जनशक्तिको पाटोमा सबलीकरण गर्नुपर्ने बताईन् । प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते दिनको १ बजे बस्नेछ ।

विशेष समयमा बोल्दै समसामयिक विविध विषयमा आफ्ना धारणाहरु व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले नेपालको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले भीडभाड, स्वास्थ्य जोखिम, हिंसात्मक घटना र मानव अधिकार उल्लङ्घनका समस्या बढेको बताए ।

उनले कारागार व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमार्फत कैदीलाई केवल सजाय नभइ सुधार गरी समाजमा पुनःस्थापित गर्ने व्यवस्था हुनुपर्ने धारणा राखे । सांसद साउदले कारागारलाई सुधारगृहको रूपमा रुपान्तरण गर्दै बन्दीहरूको सीप र क्षमतालाई मुलुकको उत्पादनसँग जोड्ने, खुला कारागार वा सामुदायिक सेवामा संलग्न हुने अवसर दिने र पुनःसामाजिकीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। “क्षमताअनुसार संरचना निर्माण, स्वास्थ्य सेवा, स्वच्छता, पौष्टिक आहार र मानसिक स्वास्थ्य कार्यक्रमको सुनिश्चितता गर्नुपर्छ,” उनले भने । नेकपा एमालेकी सुनिता बरालले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि त्यससँग सम्बन्धित धेरै कानुन निर्माण हुन नसकेको बताए । उनले भने, “साझा विषयमा एक भएर अघि बढ्नुपर्नेमा छलफल र आलोचनात्मक चेतको साटो गालीगलौजमा सीमित भइरहेका छौँ ।” उनले कानुन निर्माण र विकास निर्माणका विषयमा सधैँ पक्ष–प्रतिपक्षको टकराव मात्र हुने हो भने कल्पना गरेको समृद्ध नेपालको सपना पूरा हुन कठिन हुने बताए । नेकपा माओवादी केन्द्रका वर्षमान पुनले सरकारको बेथितिका कारण जनमानसमा निराशा फैलिएको आरोप लगाए । उहाँले अर्थतन्त्रमा पनि आशाअनुरुप सुधार हुन नसकेको टिप्पणी गरे । उनले भने, “मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकमध्ये ७४ प्रतिशत विदेश पलायन हुने सरकारी तथ्याङ्क छ । अर्थतन्त्रका वास्तविक सूचकाङ्कमा सुधार देखिएको छैन । बैंकमा लगानी योग्य खर्बौँ रुपैयाँ थुप्रिएको छ, तर उद्योगी–व्यवसायीले ऋण लिएर व्यवसाय विस्तार गर्न चाहिरहेका छैनन् ।” उनले आयात गरिएको मल समेत वितरण हुन नसकेको र मल नपाएका किसानको पीडा सुन्दा सरकार मौन रहेकोप्रति प्रश्न गरे। नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालमा हवाई यात्रा असुरक्षित भएको बताउँदै पटक पटक हुने हवाई दुर्घटनाका बारेमा गहिरो अनुसन्धानको आवश्यकता औँल्याए। उनले हवाई क्षेत्रमा देखिएको दण्डहीनताको अन्त्य हुनुपर्ने र सौर्य एयरलाइन्स दुर्घटनाको कानुनअनुसार पुनःजाँच हुनुपर्ने र न्यायिक जाँच आयोग गठन गरेर पुनः अनुसन्धानको माग गरे ।