३० भदौ, काठमाडौँ । हामी नेपाली अभियानका सुदन गुरुङ समूहले बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । गुरुङसहितका जेएनजीहरुको भीडमा आइतबार राती नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको छ ।
आफूहरूको मागबमोजिम मन्त्रीपरिषद् विस्तार नगरिएको भन्दै राती प्रधानमन्त्री निवास अगाडी नाराबाजी गरिएको थियो । राती गुरुङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार प्रवेश गर्न खोज्दा प्रवेश नपाएको समाचार छ ।
बालेनका कानुनी सल्लाहकार रहेका ओम प्रकाश अर्याललाई गृहमन्त्री दिएको बिषयमा समेत गुरुङले विरोध जनाएका थिए । विभिन्न विवाद आए पनि सुदन गुरुङले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सुशीलालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुदन समूहले आफुहरुकाे उपस्थिति बिना नै मन्त्रीपरिषद् बिस्तार तयारी गरिएको भन्दै आक्रोश पोखेको छ ।
सुशीला कार्कीलाई प्रधानमन्त्री नबनाए राष्ट्रपति कार्यालय घेर्ने चेतावनी खुल्लमखुल्ला रूपमा गुरुङले दिएको भिडियो सार्वजनिक भएको थियो । हर्क साम्पाङ लाई मन्त्री नबनाएको भन्दै अर्को समूह सुशीला कार्कीसँग रुष्ट भई प्रदर्शन र सामाजिक सञ्जालमा आन्दोलित छ ।





