शिक्षा

शिक्षामन्त्री ‘ब्रिफिङ: विज्ञान, प्रविधिमा जोड, आजदेखी मन्त्री पुनः मन्त्रालयमै बस्ने व्यवस्था

७ असोज, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिएका छन् ।

केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हालेका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिएका हुन् ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तरदेखि कम्प्युटर शिक्षालाई महत्त्व दिन निर्देशन दिए।

मन्त्री पुनले पद बहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चारवटा सल्लाहकार समिति गठनको कार्यादेश समावेश गरिएको प्रस्तावलाई स्वीकृत गरेक ाथिए । यसैबीच, मन्त्री पुनको इच्छाबमोजिम उनलाई मन्त्रालयमै आवासको प्रबन्ध गर्न मन्त्रालय प्रशासनले आवश्यक तयारी गरेको छ । मन्त्री पुनले आफू जहाँ काम गर्यो, त्यहीँ बस्दै आएकाले सुत्ने खाट र भान्छा कोठाको व्यवस्था गर्न निर्देशन दिएका थिए। त्यही अनुसार एक वटा कोठा ब्यवस्थासमेत भएको कर्मचारीले जानकारी दिएका छन् ।