अपराध

राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड प्रकरणमा तीन जना पक्राउ

१४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।

प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा उनीहरूले राष्ट्रपति कार्यालय शीतल निवास परिसरमा तोडफोड, आगजनी तथा चोरीजस्ता कार्य गरेका थिए। सोही घटनामा संलग्न भएको प्रमाण फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ।

उनीहरूविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।