२४ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले विद्यालय र विश्वविद्यालयहरूमा भइरहेको राजनीतिक हस्तक्षेपप्रति कडा आपत्ति जनाएका छन् ।
मन्त्रीले सामाजिक सञ्जालमार्फत लेख्दै संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने तर शिक्षालयहरूलाई राजनीतिक गतिविधिको थलो बनाउन नपाइने स्पष्ट सन्देश दिएका छन् ।
उनले भनेका छन्, “राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालय र विश्वविद्यालयको सञ्चालनमा बाधा पुर्याउने र विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन।”
मन्त्रीका अनुसार विद्यालय, सिटिइभिटी र विश्वविद्यालयहरूमा भइरहेको अनावश्यक चलखेल र राजनीतिक दबाबबारे हजारौं उजुरी प्राप्त भएपछि सो सूचना जारी गरिएको हो ।
“त्यस्तो अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारकै रूपमा मानिन्छ,” मन्त्रीले बताएका छन् । साथै उनले सर्वोच्च अदालतको आदेश र सम्बन्धित ऐन–कानुन अध्ययन गर्न आग्रह गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा मन्त्रीले शिक्षालयहरूले पठन–पाठन प्रक्रिया नछोडी नियमित रुपमा सञ्चालन गर्न पनि अनुरोध गरेका छन् ।
“चुनाव प्रचारमा चौबीसै घण्टा लाग्नुभए पनि स्कुलमा पढाइ बन्द नगरोस्,” मन्त्रीको भनाइ छ ।






